काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का सांसद् प्रदीप यादवले नागरिकता सम्बन्धी विधेयक तत्काल अघि बढाउन माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् यादवले यसअघि पटक-पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अब तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभयाे ।
अब पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष थाल्ने चेतावनी समेत उहाँले बताउनुभयो । नागरिकताबिहीन हुँदा जन्मसिद्ध नागरिकले पीडा भोगिरहेको भन्दै सांसद् यादवले आवाजविहीनको आवाज कसैले नसुनेको बताउनुभयाे ।
नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको भन्दै उहाँले यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको बताउनुभयाे ।
राष्ट्रपतिको भिटो अधिकारबारे सदनमा छलफल हुन जरुरी रहेकाे समेत उहाँले बताउनुभयाे ।
