काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै सांसद् सुमना श्रेष्ठले साे प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएकाे हाे । बाल मन्दिरकाे एकल स्वामित्व रहेकाे २८ रोपनी जग्गा र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जग्गा करिब ५७ रोपनी जग्गा कसले भोगचलन गरिरहेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
'२०१८ सालमा निजी सम्पत्तिलाई अतिक्रमण गरेर अनाथ बालबालिकाको लागि हेरचार गर्ने भनेर नेपाल बाल संगठनलाई जिम्मा दिइयो, तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी गरेर करिब ५७ रोपनी जग्गा कसले भोगचलन गरिरहेको छ ? कसको हितको लागि प्रयोग भईरहेको छ ? अनाथ बालबालिका अहिले तपाइँले गएर हेर्नुहुन्छ भने भर्खर जन्मेका बच्चाहरुलाई खुवाउन दूध समेत छैन, त्यस्तो प्राईम ठाउँमा भएको जग्गालाई कौडीको भाउमा बहालमा लगाउने कहलिएका व्यक्तित्व र व्यवसायी घराना छन्'- श्रेष्ठले भन्नुभयाे ।
संगठनकाे बाेर्डमा आफ्नाे मान्छे छिराउने, बाेर्ड कब्जा गर्ने र सीमित मान्छेका लागि काम भइरहेकाे भन्दै उहाँले यसलाई अनदेखा गर्न नमिल्ने बताउनुभयाे । 'बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन भएको रहेछ, त्यो आयोगले पदाधिकारी लगायतलाई कानुनी दायरमा ल्याउने सुझाव पनि दिएको रहेछ, त्यो प्रतिवेदन हामीले कहिले सार्वजनिक गर्छौं ? हामीले हेर्नुपर्ने बालबालिकालाई कहिलेसम्म अनदेखा गर्छाैं ।'
