काठमाडाैं । नेमकिपाका सांसद् प्रेम सुवालले खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोटका घटना बढेकाेमा चिन्ता व्यक्त गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै सांसद् सुवालले खाना पकाउने ग्यासकाे प्रतिस्थापन गर्न जरुरी रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'खाना पकाउने ग्यास पड्केर ३ वर्ष यता १० जनाको मृत्यु र ४५ जना घाइते भएको समाचार प्रकाशित भयो, यस कारण जलविद्युत पर्याप्त उत्पादन गरी, व्यापार घाटा खर्बाै हुने खाना पकाउने ग्यास प्रतिस्थापन गर्नु जरुरी छ ।'
सांसद् सुवालले भक्तपुर-कमलविनायक-नगरकाेट सडक चाैडा गरी कालाेपत्रे ८ वर्ष भएकाे भन्दै उहाँले ती काम समयमै सम्पन्न गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशकाे बजेट काठमाडाैंमा मात्र खर्च गर्ने काठमाडाैं उपत्यका विकास प्राधिकरण तत्काल खारेज गर्न माग गर्नुभयाे ।
सांसद् दीपक गिरीले पनि ग्यास विस्फाेटका घटनामा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले ग्यास लिक भएर घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकाे स्वास्थ्य लाभकाे कामना गर्नुभयाे ।
गत बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर लिक हुँदा भण्डारी र भण्डारीकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएकाे थियाे । भण्डारीकी आमाकाे निधन भइसकेकाे छ । सांसद् भण्डारीकाे भारतमा उपचार भइरहेकाे छ ।
