काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनुपर्ने अवस्था आउनु दु:खद भएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद् पन्तले आजसम्म कसैको अधिनमा नरहेको देशमा भइरहेका विदेशी गतिविधि गलत भएका बताउनुभयाे । 'हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्व प्रोफेसरले हाम्रा पूर्व राजदूतको नाम, हाम्रा पूर्व सभामुखको नाम, हाम्रा पूर्व अर्थमन्त्री, मानवअधिकारवादी लगायत तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ, कस्तो दिन आयो ?'- उहाँले प्रश्न गर्नुभयाे ।
नेपालको राजदूत वा परराष्ट्र मन्त्रालयका सचिव भारत जाँदा यही किसिमको सहज भेटघाट नहुने दृष्टान्त समेत सांसद् पन्तले सुनाउनुभयाे ।भारतीय विदेश सचिव विनयमोहन क्वात्राकाे हालै भएकाे नेपाल भ्रमणप्रति लक्षित गर्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'राष्ट्रपतिको चुनावअघि यहाँ भारतीय विदेश सचिव यहाँ आउँछन्, उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलाई मात्र होइन, पूर्व प्रधानमन्त्री, राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूसँग भेट गर्छ, म परराष्ट्र मन्त्रालयलाई भन्न चाहान्छु, हाम्राे राष्ट्रिय सम्मानकाे कुरा हाे, हाम्राे विदेश सचिव भारत जाँदा यही ढंगकाे ट्रिट भारतमा पाउँछ ? पाउँदैन, आजसम्म कसैकाे गुलामी नबाेकेकाे,आजसम्म स्वतन्त्र रहेकाे कहिल्यैपनि पराधिन नभएकाे देश हाे याे, याे देशका राष्ट्रपतिकाे नाम विदेशीकाे ट्वीटमा हेर्नुपर्ने ?'
विदेशी अधिकारी र राजदूतको भेटघाटलाई नियमन गर्न उहाँले परराष्ट्र मन्त्रालयसँग माग गर्नुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'विदेश सचिव आउँदा हाम्रा अखबारका कन्टेन्ट हेर्दा लाजमर्दो हुन्छ, सारा पूर्व प्रधानमन्त्रीलाई भेटेकाे छ, सारालाई भेटेकाे छ, यस्तो किन हुन्छ ? विदेशीहरुसँगकाे भेटघाट नियमन गर्ने भनेर बारम्बार भनिएपनि कहिलेपनि नियमित हुँदैन, यसलाई नियमन गरियाेस्,परराष्ट्र मन्त्रालयले तत्काल विदेशी पदाधिकारी आउँदा कसरी नियमन गर्ने गराेस्,देशकाे स्वाभिमानका लागि याे नगरी भएन,सरकारकाे ध्यान यसतर्फ जाहाेस् ।'
