काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएका पाैडेलले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभयाे ।
उहाँले सरकार गठन गर्दा गठबन्धन दलबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जित हुने बताउनुभयाे । उपप्रधानमन्त्री पाैडेलले सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सबै दलले इमान्दारीसाथ पालना गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'याे सरकार जुन पृष्ठभूमिमा बन्याे, याे सरकार बन्दा जे सहमति सरकारमा रहेका दलबीच बनेकाे छ, त्याे सहमति नै एमालेका तर्फबाट अघि सारिएमा उम्मेदवारकाे जितकाे आधार हाे, म स्पष्ट गर्न चाहान्छु, सरकारमा सहभागी र सरकारलाई समर्थन गर्ने दलबीच भएकाे सहमति कार्यान्वयन हुन्छ, साेही सहमति अनुसार नतिजा सार्वजनिक हुन्छ ।'
उपप्रधानमन्त्री पाैडेलले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताउनुभयो । उहाँले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै उहाँले देशको आवश्यकता अनुसार एकताबद्ध पनि हुने बताउनुभयाे ।
उपप्रधान एवं अर्थमन्त्री पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गरिसकेकाे बताउनुभयाे ।
