काठमाडाैं । नेपाली कांग्रेसले देश विकासकाे सबालमा सरकारलाई साथ दिन तयार रहेकाे बताएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै कांग्रेस सांसद् प्रकाशशरण महतले विकास, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वार्थकाे विषयमा सरकारलाई साथ दिन तयार रहेकाे बताउनुभयाे ।
'हामी देशकाे विकासकाे पक्षमा, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वार्थकाे पक्षमा सरकारलाई साथ दिन तयार छाैं,विकासकाे एउटा मार्गचित्र काेराैं, देशकाे राष्ट्रिय स्वार्थलाई सुनिश्चित गर्न एउटा निश्चित साझा दृष्टिकाेण सार्वजनिक गराैं' - उहाँले भन्नुभयाे । यस्ता विषयमा विपक्षी भएपनि सरकारलाई सहयाेग गर्न कांग्रेस तयार रहेकाे सांसद् महतले बताउनुभयाे ।
कम्युनिष्ट पार्टी सरकारमा आएपनि कुरा धेरै काम थाेरै भएकाे र ४ वर्षमा केही गर्न नसकेकाे उहाँले बताउनुभयाे । तर शेरबहादुर देउवा नेतृत्वकाे सरकारले १ वर्षमा धेरै काम गरेकाे सांसद् महतले दाबी गर्नुभयाे ।
हालै अर्थमन्त्री विष्णु पाैडेलले सदनमा प्रस्तुत गर्नुभएकाे बजेटकाे अर्धवार्षिक समीक्षामा कुनै भिजन नरहेकाे र वर्तमान चुनाैतीलाई कसरी सम्बाेधन गर्ने भन्ने विषयमा कुनै दूरदृष्टि नपाएकाे बताउनुभयाे । देशकाे अर्थतन्त्रलाई सुधार गर्दै विकासकाे मार्गचित्र काेर्न तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउन जरुरी रहेकाे महतले बताउनुभयाे ।
कांग्रेस विरुद्ध जबरजस्त भास्य स्थापना गर्न खाेजिएकाे आराेप लगाउँदै उहाँले कांग्रेसकाे नेतृत्वमा आर्थिक रुपान्तरणल र कानुनी शासनकाे अवधारण अगाडि बढाउने काम भएकाे दाबी गर्नुभयाे । लाेकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने चुनाैती अहिले रहेकाे सांसद् महतले बताउनुभयाे । सबै नागरिकलाई काेभिड विरुद्धकाे खाेप लगाउनेदेखि २ वटा चुनाव सम्पन्न गर्नेसम्मका काम देउवा सरकारले गरेकाे उहाँले बताउनुभयाे ।
