काठमाडौं । नेकपा एमालेका सांसद् वासुदेव घिमिरेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएको भनेर आएका समाचारबारे सरकारकाे जवाफ माग्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् घिमिरेले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको कुरा सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयकाे स्पष्ट जवाफ आउनुपर्ने बताउनुभयाे ।
सांसद् घिमिरेले भन्नुभयाे - 'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको करिब १ वर्ष पुग्न आँटेको छ, त्यो पूर्ण रुपमा सञ्चालमा आउन सकेको छैन, हप्ताकाे २ वटा अन्तर्राष्ट्रिय प्लाइट भएकाे थियाे केही समय, अहिले बन्द भएकाे छ, विडम्बना त के छ भने माघ ६ गते नेपाल एयरलाइन्सको मलेसियाबाट आएको आरएनए ४१६ विमान काठमाडौंमा अवतरण गर्ने विमान मौसमकाे खराबीले काेलकत्ता लगेर अवतरण गरिएकाे छ, छापाहरुमा भारतले अनुमति नदिएकाले रोकिएको भनिएको छ, यो के हो ? सम्मानित सदनलाई सम्बन्धित मन्त्रालयले स्पष्ट पार्न अनुरोध गर्दछु ।'
विमानस्थल सञ्चालनमा देखिएमा समस्या समाधान गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउन समेत उहाँले सरकारसँग माग गर्नुभयाे । सांसद् घिमिरेले विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न पनि सरकारसँग माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'निजी क्षेत्रले साे क्षेत्रमा पर्यटनमा करिब ४० अर्ब भन्दा बढी लगानी गरेकाे छ, त्याे लगानी अहिले संकटमा परेकाे छ,त्याे संकटलाई तत्काल मुक्त गराउनका लागि सरकारसँग हार्दिक अनुराेध गर्दछु ।'
