काठमाडाैं । प्रतिनिधि सभाले सांसद् शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले सांसद् रहमानकाे निधनप्रति शाेक प्रस्ताव पारित गरेकाे हाे । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य रहनुभएकी रहमानको फागुन १३ गते ६३ वर्षको हृदयघातका कारण निधन भएको थियो ।
उहाँले वञ्चितीकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । दिवंगत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण गरिएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएकाे छ ।
