काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तिम समयमा राेकिएकाे आफ्नाे जेनेभा भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा समय लिएर बाेल्दै मन्त्री पाैड्यालले मन्त्रिपरिषद्काे निर्णय अनुसार संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन जाने तयारी गरेकै बेला भ्रमण राेकिएकाे बताउनुभयाे ।
जेनेभा जाने सबै तयारी पूरा गरेर निस्किनै लागेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नजानु भनेर सन्देश पठाउनुभएकाे र त्यसपछि भ्रमण राेकिएकाे उहाँले बताउनुभयाे । मन्त्री पाैड्यालले भन्नुभयाे - 'संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन जानुपर्ने थियाे जान सकिनँ, सभा आज सुरुआत हुन्छ, भाेलि नेपालकाे प्रस्तुति छ, त्यसमा भाग लिन प्रायजसाे परराष्ट्रमन्त्रीकाे नेतृत्वमा जाने गर्छ नेपाली टाेली ।'
फागुन ४ गते परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्रीकाे नेतृत्वमा ४ सदस्य टाेली जेनेभा जाने प्रस्ताव लगेकाे र साेही दिन मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेकाे उहाँले बताउनुभयाे । ४ सदस्यीय टाेलीमा प्रधानमन्त्री प्रचण्डले पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाकाे नाम विज्ञकाे रुपमा थपेर ५ सदस्यीय टाेलीलाई स्वीकृत दिनुभएकाे र साेही अनुसार भ्रमणकाे तयारी गरेपनि अन्तिम समयमा राेकिएकाे मन्त्री पाैड्यालले बताउनुभयाे ।
परराष्ट्रमन्त्रीलाई राेकेर संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानुनमन्त्री कोईरालालाई पठाउने सरकारको निर्णयको कानुनी वैधता माथि उहाँले प्रश्न उठाउनुभयाे । पाैड्यालले भन्नुभयाे - 'जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौं, उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ, तर औपचारिक रूपमा यसको निर्णय भइसकेको मलाई थाहा छैन, सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ, तर यसको कानुनी हैसियत के हो ? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ?'
मानव अधिकारकाे सवालमा नेपालकाे प्रतिबद्धता र प्रगतिलाई बचाउनु अहिलेकाे सबैभन्दा ठूलाे चुनाैती रहेकाे उहाँले बताउनुभयाे ।संक्रमणकालीन न्यायलाई कसरी पीडितमैत्री बनाउँछाैं र राष्ट्रिय मानव अधिकार आयाेगलाई कसरी सुदृढ बनाउने भन्ने सवालमा अन्तर्राष्ट्रिय समुदायले बेला-बेलामा चासाे दिने गरेकाे मन्त्री पाैड्यालले बताउनुभयाे ।
यी दुई वटै सवालमा हामीले प्रगति गरेका छाैं भनेर आफूले प्रस्तुति राख्ने तयारी गरेपनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डकाे सन्देशअनुसार भ्रमण राेकिएकाे बताउनुभयाे । मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुने बताउँदै मन्त्री पौड्यालले भन्नुभयाे - ' राजनीतिक परिस्थितिले म जान नसकेपनि, याे अन्तर्राष्ट्रिय छवि, याे विश्वसनियता गुमायाैं भने नेपाललाई ठूलाे क्षति हुनेवाला छ ।'
नबोलाएका विदेशी अधिकारीहरू नेपाल भ्रमणमा आउँदा देशको राजनीतिक वातावरण समेत खल्बल्लिने गरेको भन्दै उनीहरूको भेटमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको पनि जानकारी दिनुभयाे ।
मन्त्री पाैड्यालले आफूले ४२ दिन परराष्ट्र मन्त्रालयकाे नेतृत्व सम्हालेकाे भन्दै उहाँले साे अवधिका साना तर निक्कै महत्वपूर्ण काम गरेकाे मन्त्री पाैड्यालले बताउनुभयाे ।
