काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि विभिन्न ४ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनुहुने कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि उहाँले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' प्रस्तुत गर्नुहुनेछ ।
