काठमाडौं । प्रदेश नम्बर १ को नाम कोसी राख्ने प्रस्ताव प्रदेश १ को संसद् सचिवालयमा दर्ता भएको छ ।
एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी तथा एमालेका निरन राई समर्थक रहेको प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको हो । नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण गरियोस् भन्ने प्रस्ताव दर्ता भएको हो ।
प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैले गर्नु पर्ने दायित्व पुरा गर्नकालागि प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोसी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रूपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोसी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले प्रदेशको नाम कोस प्रदेश राख्न उपयुक्त ठानिएको प्रस्तावमा जनाइएको छ ।
९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिट रहेको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस मिल्दा दुई तिहाइ बहुमत पुग्छ । विगतमा जातीय पहिचानको आधारमा नाम राख्नु पर्ने बताउँदै आएको माओवादी पनि कोसी नाम राख्न सहमत भएको छ । यसर्थ प्रदेश १ को नाम कोसी हुने निश्चित भएको छ ।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
