काठमाडाैं । प्रदेश नम्बर-१ को नाम 'कोशी प्रदेश' हुनुपर्ने प्रस्ताव प्रदेश सभाबाट पारित भएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभाकाे दाेस्राे बैठकबाट प्रदेश-१ को नाम 'कोशी प्रदेश' हुनुपर्ने प्रस्ताव दुईतिहाई बढी मतले पारित भएकाे हाे । बैठकमा ८६ सांसद् उपस्थित भएकाेमा साे प्रस्तावकाे पक्षमा ८२ र विपक्षमा ४ मत परेकाे सभामुख बाबुराम गाैतमले घाेषणा गर्नुभयाे ।
याेसँगै प्रदेशका चौथो मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश-१ को नाम 'कोशी प्रदेश' राख्न सफल हुनुभएकाे छ । प्रदेशले भौगोलिक पहिचानको आधारमा नाम पाएको छ ।
प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेका सांसद् रामबहादुर मगरले प्रस्ताव पेस गर्नुभएकाे थियाे । एमालेकै सांसदद्वय विदुर लिंथेप र निरन राईले साे प्रस्तावलाई समर्थन गर्नुभएकाे थियाे ।
साे प्रस्तावमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले संशोधन प्रस्ताव दर्ता गर्नुभएकाे थियाे । साे संशाेधन प्रस्ताव प्रदेश सभाबाट बहुमतले अस्वीकृत भएकाे थियाे ।
प्रदेश सभाकाे पहिलाे बैठकमा काेशी नामसम्बन्धी प्रस्तावमाथि छलफल भएकाे थियाे । पहिलाे बैठकमै एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले किराँत-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेका थिए । छलफलका क्रममा सो नाम बहुमतले अस्वीकृत भएको थियो ।
