काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी कानुनलाई अघि बढाउनका लागि आफ्नो सकारात्मक साथ हुने बताउनुभएकाे छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको 'मिडियामा महिलाका सवाल' विषयक कार्यक्रममा सभामुख घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउनका लागि सहयाेग गर्ने बताउनुभयाे ।
उहाँले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसद्को ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव पनि दिनुभयो ।सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन सभामुख घिमिरेले काउन्सिललाई आग्रह पनि गर्नुभयाे ।
सभामुख घिमिरेले सूचना प्रविधिको विकाससँगै यसले समाजमा पारिरहेका नकारात्मक असरलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केही कानुनको पनि गलत ढंगले प्रयोग भइरहेको बताउनुभयो । चर्चामा रहेका विषय र नेतालाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै उहाँले विषयवस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।
