काठमाडाैं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत पाउनुभएकाे छ ।
आइतबार दिउँसो बसेकाे सुदूरपश्चिम प्रदेश सभा बैठकबाट शाहले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभा बैठकमा ५२ जना सांसद् उपस्थित भएकाेमा ४१ जनाले शाहकाे पक्षमा र ११ जनाले विपक्षमा मतदान गरेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका र स्वतन्त्र १ सदस्य छन् । शाहलाई एमालेका १० र राप्रपाका १ जना प्रदेश सभा सदस्यले मत दिएनन् ।
विश्वासकाे मत पाएसँगै कांग्रेस नेतृत्वकाे सुदूरपश्चिम सरकार जाेगिएकाे छ । कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता शाह कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलकाे समर्थनमा माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
गत मंसिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि राजीनामा दिनुभएकाे थियाे । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसद्काे समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका रावल नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि राजीनामा दिने अवस्थामा पुग्नुभएकाे थियाे ।
रावलकाे राजीनामासँगै प्रदेश सभामा सबैभन्दा ठूलाे दलकाे संसदीय दलकाे नेताका रुपमा शाह मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
