काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसद्बाट राजीनामा दिनुभएकाे छ ।
राष्ट्रपति पाैडेलले आइतबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समक्ष राजीनामा पत्र बुझाउनुभएकाे हाे । राष्ट्रपतिमा निर्वाचित भएपछि पाैडेलले सांसद्बाट राजीनामा दिनुभएकाे हाे ।
'यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ, नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु'- राजीनामा पत्रमा लेखिएको छ ।
फागुन २५ गते भएकाे चुनावमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ९ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे ।
आइतबार नै उहाँले नेपाली कांग्रेसका सबै जिम्मेवारीबाट अलग भएकाे घाेषणा गर्नुभएकाे थियाे । मंसिर ४ गते सम्पन्न चुनावमा पाैडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे थियाे ।
सोमबार दिउँसो १ बजे उनले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्दैछन्।
