काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ ।
मंगलबार बिहान मनामास्थित नेपाली दूतावासमा पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको हो ।
अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी गराएका थिए ।
भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने बताएका थिए ।
सभामुख घिमिरेले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायत विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिनुभएको थियो । कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरिया लगायत उपस्थित हुनुहुन्थ्यो । ६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ ।
