काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे स्वदेश फर्कनुभएको छ ।
बहराइनमा आयाेजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १ सय ४६ औं महासभामा भाग लिएर सभामुख घिमिरे बिहीबार साँझ स्वदेश फर्कनुभएकाे हाे ।
बहराइनको राजधानी मनामामा आयाेजित महासभालाई सभामुख घिमिरेले सोमबार सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताउनुभएको थियो । उहाँले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गर्नुभएको थियो ।
सभामुख घिमिरेले मंगलबार मनामास्थित नेपाली दूतावास पुगेर राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग बहराइनमा रहेकाे नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको थियाे ।
बहराइनका सभामुख लगायत अन्य प्रतिनिधिसँगगको भेटमा नेपाली श्रमिकका विषयमा कुराकानी भएको सभामुख घिमिरेले बताउनुभयो । उहाँले नेपालकाे तर्फबाट प्रभावकारी सहभागिता र कुरा राखेकाे बताउनुभयाे ।
९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे शुक्रबार बहराइन जानुभएको थियो ।
