काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने बताउनुभएकाे छ ।
सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा शुक्रबार नेपाल पत्रकार महासंघकाे प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन आग्रह गर्नुभयाे ।
पीत पत्रकारिता निक्कै डरलाग्दोगरी देखिएकाे र यसकाे प्रभावमा समाजमा परिरहेकाे उहाँले बताउनुभयाे । सभामुख घिमिरेले पत्रकारहरूले जिम्मेवारीसाथ पत्रकारिता नगरेको आफूले पाएकाे पनि बताउनुभयाे ।
पत्रकारिता क्षेत्रमा देखिएका विकृतिलाई अन्त्य गर्न सराेकारवालाहरु सबै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयाे । सभामुख घिमिरेले भन्नुभयाे - 'पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो अन्यथा नलिनुहोला, यो पत्रकार महासंघ हो, त्यो खालको छैन, पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ, जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्, अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू, संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन, यसकाे प्रभाव कुनै न कुनै रुपमा परेकाे छ ।'
थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभाव पारिरहेको भन्दै उहाँले पत्रकारहरू त्यसबाट मुक्त हुनुपर्ने बताउनुभयाे ।
सभामुख घिमिरेले पत्रकार र सरकारबीचकाे सम्बन्ध कसरी राम्राे बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे -'पत्रकार र सरकारबीच कसरी सम्बन्ध राम्राे बनाएर लैजान सकिन्छ, चाहे एेन ल्याउने सन्दर्भमा, कार्यान्वयन गर्ने सम्बन्धमा, विनियम बनाउने लगायत कुरामा देखिएका समस्या कसरी हल गर्ने यसमा ध्यान दिनुपर्छ, याे चाहिँ अलि समस्याकाे विषय हाे, याे समस्याकाे समाधान हामी तपाइँ हाम्राे कर्तव्य हाे ।'
