काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले शनिबार सम्भावित कार्यसूची तय गरेकाे छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनेछ । उहाँले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनुहुनेछ ।
बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ ।
बैठकमा सांसद् प्रेम सुवालले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ पेस गर्नुहुनेछ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
