काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल गर्नुपर्ने बताउनुभएकाे छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकसँग शनिबार गर्नुभएकाे अनाैपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले टीआरसी विधेयक संसदीय समितिमा लगेर व्यापक रुपमा छलफल गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सदनमा पेस भइसकेपछि विभिन्न ढंगले छलफल हुन्छ, संशाेधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ, तर समितिमा लगेर व्यापक रुपमा छलफल गरेर मात्र यसलाई टुंगाेमा पुर्याउनुपर्छ, हतार-हतारसाथ यसलाई पारित गरेर जाने भन्ने हुँदैन, त्यस्ताे गर्नुपनि हुँदैन ।'
मानवअधिकार आयाेग, मानवअधिकार सम्बद्ध पक्ष, अन्तर्राष्ट्रिय समुदाय लगायतले समेत ध्यानाकर्षण गराएकाले यसलाई प्रक्रियासंगत ढंगले छलफल गर्नुपर्ने प्रमुख सचेतक गिरीले बताउनुभयाे । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुँदैछ ।
आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयाे । बैठकमा प्रमुख प्रतिपक्षको रुपमा एमालेको सिट व्यवस्थापन हुनुपर्ने माग समेत आफूहरुले राखेकाे गिरीले जानकारी दिनुभयाे ।
