काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिकहरूको छानबिन गर्ने सम्बन्धी संशोधन विधेयक पीडितलाई उपेक्षा गरी सरकारको हालीमुहालीको लागि ल्याउन लागिएको विधेयक भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले सो विधेयक पीडितसँग छलफल नै नगरी ल्याएको विधेयक भएको बताउनुभयो । गम्भीर प्रकृतिका मानवता विरोधी अपराधमा मेलमिलाप गर्न नमिल्ने कानुनको आधारभूत सिद्धान्त विपरीत सो विधेयक ल्याउन लागिएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
प्रधानमन्त्रीलाई पक्राउ गरेर कारबाही अघि बढाउने मुद्दा अदालतमा दर्ता भएपछि हतार–हतार सो विधेयक ल्याएको उहाँले बताउनुभयो । सो विधेयकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने उहाँको भनाइ छ ।
माओवादीले सुरु गरेको सशस्त्र युद्ध अर्थात् गृह युद्ध के को लागि थियो भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘युद्धको निर्धारित लक्ष के थियो ? निर्धारित लक्ष विपरीत मानवअधिकारको उलंघन र गम्भीर उलंघन अर्थात् निशस्त्र मानिसहरूको हत्या, अपहरण किन भयो ?’ उहाँले प्रश्न गर्नुभयो ।
गृहयुद्ध जो जो बन्दुक बोक्नेछन् उनीहरूको लागि मात्र नहुने सुवालले बताउनुभयो । त्यसको प्रभाव सबैलाई पर्ने कुरा बिर्सन नहुने उहाँले बताउनुभयो ।
