काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री सदनमा उपस्थित हुँदाहुँदै मन्त्रीले विधेयक पेस गर्नु गलत भएकाे भन्दै कडा आपत्ति जनाएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेस गर्ने कार्यसूची थियाे । बैठकमा प्रधानमन्त्री प्रचण्ड उपस्थित पनि हुनुहुन्छ ।
संवैधानिक परिषद् सम्बन्धी विधेयक सरकारका तर्फबाट पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसद्ले विरोध गरेका हुन् । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीकाे तर्फबाट साे विधेयक पेस गर्न मन्त्री शर्मालाई समय दिनुभयाे ।
लगत्तै एमाले सांसद् याेगेश भट्टराईले प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न दिनु गलत भएकाे भन्दै आपत्ति जनाउनुभयाे । उहाँले प्रधानमन्त्रीलाई नै साे विधेयक पेस गर्न निर्देशन दिन सभामुखसँग आग्रह गर्नुभयाे ।
एमालेकै अर्का सांसद् रघुजी पन्तले पनि प्रधानमन्त्री उपस्थित हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक मन्त्रीले पेस गर्नु संसद्लाई अवहेलना गर्नु भएकाे बताउनुभयाे । शून्य समयमा उठेका प्रश्नकाे उत्तर दिन पनि सरकारलाई रुलिङ गर्न उहाँले सभामुखकाे ध्यानाकर्षण गराउनुभयाे ।सांसद् पन्तले प्रधानमन्त्रीलाई नै साे विधेयक पेस गर्न सभामुखले रुलिङ गर्न माग गर्नुभयाे । तर सभामुख घिमिरेले सञ्चारमन्त्री शर्मालाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिनुभयाे ।
प्रधानमन्त्रीकाे अनुपस्थितिमा भने प्रधानमन्त्रीकाे तर्फबाट ताेकिएकाे मन्त्रीले विधेयक पेस गर्न भने सक्छ ।
