काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानमाथि अन्याय गरेकाे बताउनुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठककाे शून्य समयमा बाेल्दै सचेतक बर्ताैलाले किसानका लागि काम नगर्ने सरकारले कसका लागि काम गरिरहेकाे छ भन्दै प्रश्न गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'यो सरकार कसको हो ? यो सरकार कसका लागि काम गरिरहेको छ ? नेपालका किसानलाई एक बाेरा मल समेत उपलब्ध गराउन नसक्ने याे सरकार, किसानकाे ढाड सेक्नेगरी ढाड भाँचिनेगरी मलमा मूल्यवृद्धि गरेकाे छ, मलमा दिँदै आएको अनुदान कटौती गरेको छ, कहिलेसम्म सरकारबाट नेपालका किसानहरुले यसप्रकारकाे ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हाे ?'
अव्यवस्थित बसाेबासी र दलित, भूमिहीन सुकुम्बासीले लामाे समयदेखि जग्गाधनी पूर्जा पाउन नसकेका बताउँदै बर्ताैलाले प्रश्न गर्नुभयाे - 'जग्गाधनी पूर्जा पाउन उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हाे ?' उहाँले युवाहरुलाई स्वदेशमै राेजगारीकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
