काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले खेलाडीहरुका लागि आवश्यक पूर्वाधार बनाउन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पन्तले खेलाडीसँग अपेक्षा गर्ने तर उनीहरुका लागि आवश्यक पूर्वाधार बनाउन भने सरकारले ध्यान नदिने गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'खेलाडीहरुसँग अपेक्षा गर्ने, खेलाडीले जितेका बेला यसाे १-२ लाख पुरस्कार घाेषणा गर्ने अघिपछि कानमा तेल हालेर बस्ने, खेलाडीलाई चाहिने मुख्य कुरा स्टेडियम आधारभूत संरचना निर्माणमा ध्यान नदिने, यसमा सरकारले ध्यान देहाेस् ।'
सांसद् पन्तले खेलाडीलाई जितेका बेला पुरस्कार घाेषणा गरेर मात्र सरकार पन्छिन नमिल्ने बताउनुभयाे । उहाँले निर्माणाधीन क्रिकेट मैदान सम्पन्न गर्न र भएकालाई पुर्ननिर्माण गर्न पनि सरकारसँग माग गर्नुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'सरकारले विजेता टोलीलाई १-२ लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन, त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो, तिर्नुपर्ने पैसा तिरेर निर्माण सम्पन्न गर्नुपर्यो ।' उहाँले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मूलपानीको क्रिकेट स्टेडियम बनाउन पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
महिला भलिबल टाेलीले सार्कबाट जितेर आएपछि एउटा राम्राे स्टेडियम बनाइदिन भनेर भनेपनि सरकारले त्यसतर्फ ध्यान नदिएकाे सांसद् पन्तले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'महिला टाेलीले एउटा भलिबल स्टेडियम बनाइदेउ भनेकाे थियाे, त्यसमा सरकारकाे ताताे लागेकाे छैन, क्रिकेट, महिला भलिबल, फुटबल लगायतमा हाम्राे सम्भावना छ, यसका लागि उचित पूर्वाधार चाहिन्छ ।
