काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति चाँडै फेरि विश्वासकाे मत लिनुपर्ला भन्ने नसाेचेकाे बताउभुएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा विश्वासकाे मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'यति चाँडै फेरि विश्वासकाे मत लिनुपर्ला भन्ने साेचेकाे थिइनँ ।'
आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएका र समर्थन फिर्ता लिएका उहाँले बताउनुभयाे । एमाले र राप्रपा सरकारबाट बाहिरिकै कारण आफूले दाेस्राे पटक विश्वासकाे मत लिने अवस्था आएकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
सरकारका काम कारबाही राम्रै ढंगले अघि बढेकाे र न्यूनतम साझा कार्यक्रम तय गरेर अघि बढिएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्दा आजकाे परिणाम आएकाे उहाँले दाबी गर्नुभयाे । 'राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्तावपछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो, सरकार गठनको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णय गर्ने दल र माननीयहरुले नै गर्नुहोला, यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरुले दिनुहोला, जनताले पनि आफ्नो मूल्यांकन गर्नुहोला'- प्रचण्डकाे भनाइ छ ।
प्रधानमन्त्रीको गलत कामको कारणले गर्दा विश्वासको मत फिर्ता लिनुपर्यो भनेर कसैले नभनेकाे समेत उहाँले दाबी गर्नुभयाे । राष्ट्रपति कांग्रेसलाई दिऔं भनेर आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेपनि त्याे प्रस्ताव उहाँले नमान्नुभएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
कांग्रेसलाई राष्ट्रपति दिँदा शक्ति सन्तुलन हुने विश्वास आफूले गरेकाे समेत उहाँले बताउनुभयाे । राष्ट्रपति र उपराष्ट्रपति पदमा सहमति हुन नसके पनि आफ्नो सहमतिको पहलकदमीमा कुनै खोट नरहेको दाबी गर्दै प्रचण्डले भन्नुभयाे - 'सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिऔं भनेर मैले नेकपा एमालेका अध्यक्षसँग ठोस प्रस्ताव राखेको थिएँ, तर उहाँ सहमत नहुँदा त्यो सफल हुन सकेन, सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति ल्याउने कुरा सम्भव भएन, तर प्रधानमन्त्रीका रूपमा मैले लिएको पहलकदमीमा खोट थिएन ।'
पहिलाे दिन नै संसद् विघटनकाे विषयले प्रवेश पाएपछि तत्कालीन गठबन्धन मात्र नभएर सिंगाे देश नै संशकित भएकाे दाबी पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै प्रचण्डले त्यसाे भन्नुभएकाे हाे ।
