काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिन नसकिने बताउनुभएकाे छ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पेस गर्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै उपाध्यक्ष पाैडेलले एमाले विश्वासको मतको विपक्षमा रहेको बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने आधार र कारण नदेखिएको भन्दै उहाँले सिंगाे सदनलाई नै विपक्षमा उभिन आग्रह गर्नुभयाे । उपाध्यक्ष पाैडेलले भन्नुभयाे - 'उहाँलाई विश्वासको मत दिन सकिने कुनै आधार र कारण देखिएन, नेकपा एमालेले मात्र होइन संसद्का सबै सदस्यलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्दछु ।'
एमालेले यसअघि पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो । एमालेले किन समर्थन फिर्ता लियाे भन्ने आफ्नाे प्रश्नकाे जवाफ आफैंसँग खाेज्न आग्रह गर्नुभयाे । संसद् विजनेसमा चल्ने भन्दा पनि विश्वासकाे मत लिने कार्यसूचीमै व्यस्त हुने अवस्था आएकाे समेत उपाध्यक्ष पाैडेलले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'उहाँले २६ गते विश्वासकाे मत लिनुभएकाे थियाे, आज लिँदै हुनुहुन्छ, यसले के देखाउँछ भने अबकाे २ महिनापछि पनि फेरि विश्वासकाे मत लिने अवस्था त आउने हाेइन, म प्रधानमन्त्रीज्यूलाई साेध्न चाहान्छु विश्वासकाे मत लिने अर्काे कार्यसूची कहिले छ ?'
