काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकाे १० दलीय गठबन्धन ५ वर्षसम्म टिक्ने दाबी गर्नुभएकाे छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले भन्नुभयाे - 'याे गठबन्धन ५ वर्ष टिक्छ, राजनीतिक स्थिरता दिन्छ ।'
राजनीतिकाे यात्रा कस्ताे हुन्छ भन्ने हेक्का आफूलाई भएकाे भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासकाे मत लिने अवस्था नआउने ठाेकुवा गर्नुभयाे । अध्यक्ष नेपालले भन्नुभयाे - 'फेरि अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? म अस्वभाविक ठान्दिनँ, तर त्यो अवस्था आउँदैन भन्ने मलाई चाहिँ विश्वास छ ।'
प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री पुरानै गठबन्धनमा ढिलाेचाँडाे फर्कने कुरा आफूलाई पहिला नै थाहा भएको खुलासा समेत उहाँले गर्नुभयाे । अध्यक्ष नेपालले भन्नुभयाे - 'यो अवस्था आउँछ भन्ने आँकलन मैले पहिल्यै गरेको थिएँ, किनभने राजनीतिको नाडी हामीले पनि छाम्दै हिँडेका छौं, त्यो छामेर नै यहाँसम्म आइपुगेका छौं ।'
राष्ट्रको सबै चुनौतीहरूको सामना गर्न अहिलेकाे गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयाे । विगतमा थुप्रै पार्टीलाई संगै लिएर २१-२२ महिना आफूले नेतृत्व गरेकाे समेत अध्यक्ष नेपालले बताउनुभयाे ।
