काठमाडौं । प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले एमाले, माअोवादी लगायतको गठबन्धन गठबन्धन भएको दिनबाटै टुट्ने आँकलन आफूले गरेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका नेपालले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन छाडेर अहिलेको अवस्थामा फर्कने कुरा आफूलाई पहिला नै थाहा भएको बताउनुभयो । ‘यो अवस्था आउँछ भन्ने आँकलन मैले गरेको थिएँ, किन भने राजनीतिको नाडी हामीले पनि छाम्दै हिँडेका छौँ, त्यो छामेर नै यहाँसम्म आइपुगेका छौँ’, नेपालले भन्नुभयो ।
कमीकमजोरी सुधार्नुको सट्टा अरूलाई दोषारोपण गर्ने हो भने राजनीति सही दिशामा जान नसक्ने उहाँले बताउनुभयो । राजनीतिलाई सही दिशामा लैजान सबै राजनीतिक दलका नेताले आत्म समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले बनेको गठबन्धन पाँच वर्षसम्म टिक्ने पनि उहाँले दाबी गर्नुभयो । उहाँले यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्नुभयो ।
