काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे हाे । बैठकमा कुल २ सय ६२ सांसद् उपस्थित भएकाेमा उहाँकाे पक्षमा १ सय ७२, विपक्षमा ८९ र मत दिन्न भन्ने पक्षमा १ मत परेकाे सभामुख देवराज घिमिरेले घाेषणा गर्नुभयाे ।
प्रस्तावकाे पक्षमा परेकाे १ सय ७२ मत परेकाे र उक्त संख्या प्रतिनिधि सभामा तत्काल कायम रहेकाे सम्पूर्ण सदस्य संख्याकाे बहुमत भएकाले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासकाे मत प्राप्त गर्न राख्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे पनि सभामुख घिमिरेले घाेषणा गर्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई १० दलीय गठबन्धनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र सांसद्ले पनि विश्वासकाे मत दिएका छन् । गठबन्धनमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी छन् । स्वतन्त्र सांसद् अमरेश सिंहले पनि प्रचण्डलाई विश्वासकाे मत दिनुभयाे ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रचण्डलाई विश्वासकाे मत दिएनन् । नेमकिपाका सांसद् प्रेम सुवाल तटस्थ बस्नुभयाे ।
एमाले र राप्रपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले दाेस्राे पटक विश्वासको मत लिनुभएकाे हाे । संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्नुपर्ने उल्लेख छ ।
पुस १० गते नेकपा एमालेकाे पहलमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासकाे मत लिनुभएकाे थियाे । त्यतिबेला उहाँले २ सय ६८ मत पाउनुभएकाे थियाे । बैठकमा २ सय ७० सांसद् उपस्थित थिए ।
प्रतिनिधि सभाकाे अर्काे बैठक चैत १२ गते बस्ने सभामुखले जानकारी दिनुभयाे ।
