काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाएकाे कुरालाई आफूहरुले सामान्य रुपमा लिएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा साेमबार सञ्चारकर्मी कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रुपमा लिएको बताउनुभयाे ।
तपाइँहरुले नदिएपनि प्रधानमन्त्रीले विश्वासकाे मत पाउनुभयाे यसलाई कुन रुपमा लिनुभएकाे छ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'लाेकतन्त्रमा याे साह्रै सामान्य कुरा हाेइन र ? त्यसैले यसलाई हामीले साह्रै सहज, हार्दिकतापूर्वक र सामान्य ढंगले लिएका छाैं ।'
लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वभाविक भएको पनि उहाँले बताउनुभयाे । अध्यक्ष वैशाखमै ढल्छ भन्नुभएकाे छ रे भन्ने सञ्चारकर्मीकाे प्रश्नमा नेम्वाङले भन्नुभयाे - 'कसले कहाँ के प्रश्नमा भन्नुभयाे मलाई थाहा छैन, म त संविधान बमाेजिम, संसदीय मूल्य मान्यता बमाेजिम देश चलाेस् भन्ने मान्छे, त्यसकारण सरकार रहनु र हट्नु भन्ने कुरा मेराे लागि स्वभाविक कुरा हाे ।'
