काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आरामसँग सरकार चल्ने दाबी गर्नुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट आफूले विश्वासकाे मत पाएकाले अब आरामसँग सरकार चल्ने दाबी गर्नुभयाे ।
वैशाखसम्म अर्काे दुर्घटना हुन सक्छ भन्ने कुराबारे सञ्चारकर्मीकाे जिज्ञासामा उहाँले भन्नुभयाे - 'त्यस्ताे केही हुँदैन, अब आरामसँग सरकार चल्छ, विकास निर्माण अघि बढ्छ ।' प्रधानमन्त्री प्रचण्डले अब केही दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभयाे ।
विश्वासकाे मत घटेकाे नभइ बढेकाले आफू विश्वस्त रहेकाे दाबी पनि उहाँले गर्नुभयाे । पहिला एमालेकाे समर्थनमा प्रधानमन्त्री बन्दा १ सय ६९ रहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले १ सय ७२ भएकाे बताउनुभयाे ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकबाट प्रचण्डले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे । उहाँलाई १ सय ७२ जना सांसद्ले मत दिएका छन् । यसअघि पुस २६ गते उहाँले प्रतिनिधि सभाबाट विश्वासकाे मत लिनुभएकाे थियाे । त्यतिबेला २ सय ६८ सांसद्ले उहाँलाई विश्वासकाे मत दिएका थिए ।
नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज दाेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे ।
