काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू पूर्ण प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग साेमबार सिंहदरबारस्थित कार्यकक्षमा भएकाे छलफलमा सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताउनुभयो ।
छलफलका क्रममा महासंघका पदाधिकारीले चैत ३ गते महासंघसँग भएको शुभकामना आदानप्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो । त्यसकाे जवाफमा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू पूर्ण प्रतिबद्ध रहेकाे बताउनुभएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयाे ।
पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने हिसाबले आफूले अभियक्ति दिएकाे सभामुख घिमिरेले प्रष्ट पार्नुभयाे । यद्यपि शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको भन्दै उहाँले संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सभामुख घिमिरेले आफ्नाे अभिव्यक्तिलाई सच्याउनुभएकाे जानकारी दिनुभयाे ।
सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार छलफलमा सभामुख घिमिरे र महासंघका पदाधिकारीबीच सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसम्बन्धी विधेयककाे अवस्था लगायत विषयमा छलफल भएको थियाे । सञ्चारकर्मीका लागि संसद् सदा खुला रहने भन्दै सभामुख घिमिरेले सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।
छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल सहभागी हुनुभएकाे थियाे ।
