काठमाडाैं । नेकपा एमालेकी सांसद् डा. विमला राई पाैड्यालले मंगलबार काठमाडाैंमा युवाहरुमाथि भएकाे ज्यादतीबारे सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैड्यालले बाेल्न खाेजिरहेका युवाहरुकाे मुख प्रहरीले थुनिदिएकाे र लछारपछार गरिरहेकाे तस्विर जताततै देखिएकाे भन्दै यसबारे गृहमन्त्रालयकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवा बाेल्न खाेजिरहेकाे र केही प्रहरीले उनीहरुकाे जबरजस्ती मुख थुनिदिएकाे, घाँटी याँकिरहेकाे, लछारपछार पारिरहेकाे तस्विरहरु जताततै देखिएकाे छ, याे किन भएकाे हाे ? यी युवाहरुले के बाेल्न खाेजेका थिए र प्रहरीले त्यस्ताे ज्यादती गरेकाे हाे ?'
पूर्व मन्त्री समेत रहनुभएकी पाैड्यालले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बाेल्न पाउने अधिकार सबै नागरिकलाई दिएकाे स्मरण गराउँदै यसरी मुख थुन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न समेत गर्नुभयाे । उहाँले भन्नुभयाे - 'संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बाेल्न पाउने अधिकार सबै नागरिकलाई दिएकाे छ, प्रहरीले बाेल्नेकाे मुख थुन्न मिल्छ कि मिल्दैन ? अनि यसाे गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाहीगरेकाे छ कि छैन, याे विषयमा म गृह मन्त्रालयकाे ध्यानाकर्षण गराउँछु र यहाँ जवाफ पनि माग गर्छु ।'
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक कार्सयक्रममा सहभागी हुन जाने क्रममा नाराबाजी गर्ने ३ युवालाई प्रहरीले नियन्त्रणमा लिएको र मुख थुनेको भिडिओ तथा फोटोहरु सार्वजनिक भएका थिए । सांसद् पाैड्यालले साे विषयमा सरकारसँग जवाफ माग्नुभएकाे हाे ।
