काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई धाेका दिएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे वाग्मती प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएकाे विश्वासको मत माग्ने प्रस्तावमाथिकाे छलफलमा बोल्दै उहाँले एमालेलाई धाेका दिएर प्रचण्डले संघीय सरकारकाे समीकरण फेरेकाे बताउनुभयाे ।
एमालेकाे सहयाेगमा प्रधानमन्त्री बनेर र त्यही एमालेलाई धाेका दिने दाेहाेराे चरित्र प्रचण्डले देखाउनुभएकाे उहाँले बताउनुभयाे । वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका थपलियाले प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रभावमा परेर खाेलाे तरेर लाैराे बिर्सिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'फगत सत्ताकाे चाेचाेमाेचाे मिलाउन र विभिन्न प्रभावहरुमा परेर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूले २ महिनाअघि एमालेसँग गरेकाे सहमति ताेड्नुभयाे, एक किसिमले भन्ने हाे भने उहाँले खाेला तर्नुभयाे र तर लाैराे बनेकाे एमालेलाई बिर्सनुभयाे ।'
पुस १० गते भएकाे सहमतिलाई अन्तिम बिन्दुबाट नपुर्याइ केन्द्रबाटै धाेकाकाे राजनीति सुरु भएकाे र त्यसले स्वाभिमानी नेपालीकाे शीर निहुँरिएकाे नेता थपलियाले बताउनुभयाे ।
सरकारलाई विश्वासकाे मत दिने र प्रतिपक्ष पनि हूँ भन्दै कांग्रेसले प्रदेश सभामा दाेहाेराे चरित्र देखाएकाे भन्दै उहाँले त्यस्ताे दाेहाेराे चरित्र एमालेले नदेखाउने स्पष्ट पार्नुभयाे । सरकारलाई अस्थिर बनाउने खेलमा एमाले नलाग्ने भन्दै नेता थपलियाले एमालेले अब सशक्त प्रतिपक्षकाे भूमिका निभाउने बताउनुभयाे ।
जनपक्षीय काम गर्न नयाँ बन्ने समीकरणकाे सरकारलाई उहाँले सुझाव दिनुभयाे । सत्ता केन्द्रित राजनीतिबाट माथि उठेर गणतन्त्र संस्थागत गर्न, राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रियताकाे रक्षा गर्न र प्रदेशकाे बृहतर हित गर्न सकाेस् भन्ने शुभकामना पनि दिनुभयाे ।
