काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रचण्डले नै 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकले संविधान सभा सदस्य गणेश प्रसाद विमलीकाे निधनमा शाेक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । विमली ने२०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित हुनुभएकाे थियाे । विमलीकाे ७४ वर्षको उमेरमा चैत ७ गते निधन भएकाे थियाे ।
यस्तै दिउँसाे १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९' पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
