काठमाडाैं । प्रतिनिधि सभा सदस्य प्रभु शाहले भन्सार छली नियन्त्रणकाे नाममा लुट आतंक मच्चिएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् साहले ४५ प्रतिशत कमिसन दिने नियमावलीका कारण सीमा क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको बताउनुभयाे ।
सरकारले मलखाद दिन नसकिरहेका बेला भारतबाट ल्याउने मल समात्ने र त्यसको राजस्व व्यक्तिले लुट्ने गरेकाे उहाँले बताउनुभयाे । 'भन्सार छली नियन्त्रणकाे नाममा लुट आतंक मच्चिएकाे छ, जनजीवन अस्तव्यस्त छ,२-४ किलाे नुनतेल हेर्न नसक्ने, कसैसँग ४-१० लाख पैसा छ भने स्राेत नखुलेकाे भनेर समातिहाल्ने,नेपाल सरकारले मलखाद दिन सकेकाे छैन, किसानले कुनै उपाय गरेर भारतबाट ल्यायाे भने प्रहरीले समात्छ, हामीलाई लाग्छ कि राजश्व सञ्चालन भइरहेकाे छ'- साहले भन्नुभयाे ।
साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'त्याे राजश्व जम्मा गर्न हाेइन, कानुनकाे आडमा लुट मच्चाइएकाे छ, भन्सार एेनमा पुरस्कारकाे व्यवस्था गरिनेछ भनिएकाे थियाे, नियमावलीमा पुरस्कारकाे नाममा राजस्वको ४५ प्रतिशत लुटिरहेका छन्, सरकारकाे निर्धारित लक्ष्यअनुसार राजश्व उठिरहेकाे छैन, तर ठूलो भ्रष्ट नीतिका कारण १० वर्ष यता १० पटक नियमावली संशोधन भएको छ, मान्छे समातेर बुझाउनेलाई ३० प्रतिशत, सूचना दिनेलाई १५ प्रतिशत र १ कराेडकाे माल समात्याे भने ४५ प्रतिशत पाउँछन्, नेपालकाे संविधानले त्याे अधिकार प्रहरीलाई मात्रै छ जनतालाई हाेइन ।'
तलब सुविधा खाइरहेकाे प्रहरीलाई पुरस्कारकाे व्यवस्था गरेर साे संस्थालाई विचलित बनाउने काम भइरहेकाे भन्दै उहाँले ४५ प्रतिशत लुटकाे चक्करमा जनजीवन पीडित बनाउने र राजश्वलाई अस्तव्यस्त पार्ने काम भएकाे बताउनुभयाे । सांसद् साहले यस विषयमा निर्देशन दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
