काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले देशको राजनीतिक र आर्थिक अवस्था निक्कै कमजोर भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले नागरिकका समस्या सम्बोधन गर्नका लागि सबैले एक ठाउँमा उभिएर काम गर्नु पर्ने बताउनुभयो । अन्यथा नागरिकमा थप निराशा बढ्ने कोइरालाको भनाइ छ ।
विदेश जान लाइन लागिरहेका युवा र मल लिन लाइन लागेका किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गरिखाने सबै युवा बिदेसिन लाइन लाग्नु, व्यवसायीहरू निराश हुनुले देशको अवस्था भयावह भएको कोइरालाले बताउनुभयो । ‘ यो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, उहाँले भन्नुभयो ।
देशको अर्थतन्त्रलाई अहिले केवल विप्रेषणले मात्र धानेको उहाँले बताउनुभयो । विप्रेषणले मात्र देशको अर्थतन्त्र लामो समयसम्म धान्न नसकिने तर्फ उहाँले सचेत गराउनुभयो ।
सरकारको सामु चुनौतीका चाङ भएको उहाँले बताउनुभयो । देशका धेरै राजनीतिक दलको समर्थनमा बनेको सरकारले यो चुनौतीलाई अवसरमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
