काठमाडाैं । कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधि सभा बैठकमा उठेकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा एकीकृत समाजवादीका सांसद् शेरबहादुर कुँवरले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना भए-नभएकाे जानकारी गराउन ध्यानाकर्षण गराउनुभयाे ।
'भर्खरै २०७८ काे जनगणनाकाे पूर्ण विवरण सार्वजनिक भएकाे छ, नेपालकाे जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको सार्वजनिक भएकाे छ, तर कालापानी, लिम्पियाधुरा र लिपुलेककाे जनगणना नगरिएको भन्ने जानकारी आएकाे छ, के याे साँचाे हाे ? साँचाे हाे भने याे निक्कै दु:खद विषय हाे, हाम्राे देशकाे जुन ठाउँकाे धेरै चर्चापरिचर्चा भएकाे छ त्यस ठाउँकै जनगणना भएन'- उहाँले भन्नुभयाे ।
२०१८ मा त्यस क्षेत्रमा जनगणना भएकाे स्मरण गराउँदै सांसद् कुँवरले प्रश्न गर्नुभयाे - 'यसपाली त्यहाँ किन छुटेकाे हाे ? सम्बन्धित निकायले जानकारी देओस् ।'
