काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपतिले छुट्टै सचिवालय बनाउन नमिल्ने र सल्लाहकार राख्न नमिल्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पन्तले राष्ट्रपतिको सल्लाहकार नै प्रधानमन्त्री र सरकार हुने बताउनुभयो । उहाँले कानुनमा राष्ट्रपतिलाई विज्ञ, सल्लाहकार र कर्मचारी दिने गरी गरिएको व्यवस्था कटौती गर्नुपर्ने सुझाव दिनुभयो । ‘राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन, राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन’, उहाँले भन्नुभयो ।
संस्थाहरूको निर्माण र सुदृढीकरण आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपतिको विदेशी कुटनीतिज्ञसँगको भेटघाटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य हुनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपतिलाई छुट्टै अधिकार दिँदा संसदीय व्यवस्था नै कमजोर हुने उहाँले बताउनुभयो । राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद् नियमित सरसल्लाह गरेर अघि बढ्नु पर्ने उहाँको भनाइ छ । राष्ट्रपति हाम्रो देशको सर्वोच्च संस्था हो, त्यो विवादमा पर्नु हुँदैन’, पन्तले भन्नुभयो ।
अनावश्यक संरचना खडा गरेर खर्च बढाउन नहुने उहाँले सुझाव दिनुभयाे । यस्ता खर्च क्रमश: घटाउनु पर्ने उहाँकाे सुझाव छ ।
