काठमाडौं । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले खेलाडीकाे तलब बढाउन सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै शाहीले राष्ट्रलाई चिनाउने खेलाडी पलायन हुने स्थिति आइरहेकाे बताउनुभयाे ।उहाँले सबै सांसद् र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग गर्नुभयाे ।
'राष्ट्रलाई चिनाउने खेलाडी हुन्, तर उनीहरु पलायन भएका छन्, राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पलायन भए, भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडी मुलकमा भेटौंला लेखे, याे देशकाे चित्र हाे, राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ, बरु हामी सबै सांसद् र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ' - शाहीले भन्नुभयाे ।
