काठमाडौं । प्रतिनिधि सभामा उमेरको आधारमा सबैभन्दा कान्छी सांसद निशा डाँगीले अग्रज पुराना सांसदहरूबाट आफूले कुनै नयाँ पाठ सिक्न नपाएको गुनासो गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै डाँगीले अग्रजबाट केही कुरा सिक्न पाइन्छ कि भनेर सुरु देखिनै प्रतिनिधि सभा बैठकलाई नियाली रहेको बताउनुभयो । ‘चार महिना भयो निर्वाचन सम्पन्न भएको, तर देश र जनता प्रति यो सदन प्रति जनताले जुन अपेक्षा राखेका थिए त्यसमा हामी खडा हुन नसकेको स्पष्ट रूपमा आभास हुन थालिसकेको छ’, उहाँले भन्नुभयो ।
देशको राजनीतिक घटनाक्रमको बारेमा सबै जानकार भएको बताउँदै राजनीतिक मोडलाई जिम्मेवार देखाएर सार्वभौम सदन पन्छिन नमिल्ने उहाँले बताउनुभयो । विभिन्न राजनीतिक घटनाक्रमले संसद्को काम कारबाहीमा कुनै असर नपरोस् भनेर सचेत हुन जरुरी रहेको डाँगीको भनाइ छ ।
उहाँले सदनको आफ्नै क्यालेण्डर बनाएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले छिट्टै सदनले आफ्ना क्यालेण्डर बनाएर काम कारबाही अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
जनताले जनप्रतिनिधि भएकाले धेरै प्रश्न राख्ने गरेका भए पनि त्यसको जवाफ दिने मन्त्रालयमा मन्त्री समेत नभएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालय सम्हालेर बस्नु दुःखद भएको डाँगीले बताउनुभयो ।
