काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले संविधानले गरेको व्यवस्था विपरीत उपराष्ट्रपतिमा महिलालाई स्थान नदिएको भन्दै आलोचना गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै राउतले संविधान कार्यान्वयनको लागि काम गर्ने सबैभन्दा उच्च थलो प्रतिनिधि सभाले समेत संवैधानिक व्यवस्थाको उपहास गरेको भन्दै आलोचना गर्नुभयो । महिलाले संवैधानिक अधिकार लिन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
बारा क्षेत्र नं २ मा संघीय संसद्को पद खाली भएको सूचना संघीय संसदमा नआउँदै निर्वाचन आयोगले निर्वाचनको तिथि घोषणा गरेर काम अगाडि बढाएकोमा उहाँले आपत्ति जनाउनुभयो । कुनै व्यक्तिलाई मन्त्री बनाउने हतारोमा निर्वाचन अयोगलाई दुरुपयोग गरिएको उहाँले टिप्पणी गर्नुभयो । ‘कसैलाई तीन÷चार महिना मन्त्री बिना बाच्नै नसक्ने अवस्था भयो भन्दैमा निर्वाचन आयोगले २० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन, यसले निर्वाचन आयोगको विश्वसनीयता माथि प्रश्न उठाएको छ’, उहाँले भन्नुभयो ।
निर्वाचन निष्पक्ष गराउने तर्फ निर्वाचन आयोगलाई उहाँले ध्यानाकर्षण गराउनुभयो । राउतले निर्वाचनमा प्रहरी र प्रशासनको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
राउतले कोशी प्रदेशमा पहिचानको आन्दोलनमा ज्यान गुमाएका लाजेहाङ लिम्बु प्रति श्रद्धाञ्जली व्यक्ति गर्दै सरकारलाई गणितको खेलमा मात्र नउभिन पनि आग्रह गर्नुभयो । नागरिकका आवाज सुनुवाइ गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
