काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले मुठभेड निम्त्याउन खोजेको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै राप्रपा संसदीय दलका नेता लिङ्देनले राप्रपा सांसद्लाई राजावादीको आरोप लगाएर मुठभेड निम्त्याउन खोजेको बताउनुभयाे ।
मिटरब्याज पीडितकाे एेक्यबद्धता जनाउन गएका राप्रपा संसदीय दलका मुख्य सचेतक ज्ञानेन्द्र शाहीलाई राजावादी भन्दै दुर्व्यवहार भएकोमा उहाँले कडा आपत्ति जनाउनुभयाे । लिङ्देनले भन्नुभयाे - 'मिटरब्याजीबाट पीडित नागरिक १३ दिन पैदल हिँडेर काठमाडाैं आइसकेपछि,एउटा जिम्मेवार राजनीतिक दलकाे जिम्मेवार नेता पीडितहरुसँग एेक्यबद्धता गर्न जाँदाखेरी सत्ता पक्षका कार्यकर्ताहरुबाट हाम्राे प्रमुख सचेतकमाथि जुन प्रकारकाे दुर्व्यवहार गर्ने प्रयास गरियाे त्यसकाे घाेर निन्दा र भर्त्सना गर्छु ।'
गणतन्त्रमा राजावादी हुने छुट भएकाे भन्दै अध्यक्ष लिङ्देनले राजावादी भनेर मुठभेड निम्ताउने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभयाे । उहाँले प्रश्न गर्नुभयाे 'के सरकार मुठभेडतर्फ जान खाेजेकाे हाे ? के याे गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? सरकार मुठभेड निम्त्याउनेतर्फ अग्रसर नहाेस् ।'
मिटरब्याज पीडितका समस्या सम्बाेधन गर्नपनि अध्यक्ष लिङ्देनले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्रदेश-१ काे नाम काेशी प्रदेश राखिएकाेमा भइरहेकाे आन्दाेलनबारे सरकारकाे धारणा पनि माग गर्नुभयाे । पूर्वमा बिग्रिएकाे वातावरणलाई अनदेखा नगर्न चेतावनी दिँदै उहाँले वार्ता गरेर समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयाे ।
