काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारले संसद्लाई बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले बैठकको कार्यसूचीमा राखिएका विषय बैठक सुरु हुने बेला कटाएर सरकारले सांसद र संसद्को अपमान गरेको बताउनुभयो । प्रधानमन्त्री हल्लिँदै प्रतिनिधि सभा बैठकमा आउने र उहाँलाई सत्ता पक्षका सचेतकले लुकाउँदै चेम्बरमा लैजान गरेको भन्दै पन्तले आलोचना गर्नुभयो ।
कुनै पनि मन्त्रीको आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेश गर्ने भन्दा ठुलो काम हुनै नसक्ने पन्तले बताउनुभयो । तर सम्बन्धित मन्त्रालयको मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेश नगर्नु विडम्बनापूर्ण अवस्था भएको पन्तले बताउनुभयो । ‘यो सरकारका मन्त्रीहरूले, यो सरकार प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन् ?’ पन्तले प्रश्न गर्नुभयो ।
नेकपा माओवादीको दस्ताबेजमा काहीँ पनि संसदीय व्यवस्था नस्विकारिएको उहाँले बताउनुभयो । ‘नेकपा माओवादीको दस्ताबेज पढ्दा कहीँ पनि उहाँहरूले संसदीय व्यवस्था स्वीकारेको उल्लेख छैन, त्यो नस्विकारेकै कारणले यो संसद्को मर्यादा, यो संसद्को गरिमा बढाउन उहाँहरूलाई चासो नभएको त होइन ?’, उहाँले भन्नुभयो ।
सरकारको अकर्मण्यताको कारण संसद्ले काम गरेन भनेर आलोचना सुरु भएको उहाँले बताउनुभयो । संसद्लाई सरकाले काम नदिएको कारण संसद्को गरिमा माथि प्रश्न उठेको उहाँले बताउनुभयो ।
