काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले मिटरब्याजीकाे संरक्षण नगर्न सरकार र दलहरुलाई चेतावनी दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् झाले मिटरब्याजी साहुहरुकाे संरक्षण नगर्न चेतावनी दिनुभयाे । मिटरब्याज पीडितहरु ६ महिनाको बच्चा बोकेर सिरहाबाट १३ दिन हिँडेर काठमाडौं आएको भन्दै उहाँले उनीहरुका समस्या समाधानमा जनप्रतिनिधि र स्थानीय प्रशासनले नै चासाे नदिएकाे बताउनुभयाे ।
राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिनु दु:खद भएकाे सांसद् झाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'स्थानीय प्रशासनले समन्वय गर्दैन, जनप्रतिनिधिहरुले बेवास्ता गर्छन्, यही सदनमै भएका सांसद्को आफन्त पनि आबद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन्, राज्य त कमजोरका लागि बनेको हो नि सबलका लागि त राज्य चाहिएकै थिएन नि, तर किन हामी किन कमजोरको संरक्षण गर्नुका सट्टा साहुहरुको संरक्षण गर्छौं ?
लघुबित्तका नाममा भइरहेका समस्या समाधानका लागि सरकारले पहल नगरेकाे सांसद् झाले बताउनुभयाे । केन्द्रीय बैंक तथा अर्थ मन्त्रालयले सही नीति किन बनाएन भन्दै उहाँले प्रश्न गर्नुभयाे । सांसद् झाले भन्नुभयाे - 'केन्द्रीय बैंक तथा अर्थमन्त्रालयले आवश्यक नीति किन बनाएन ? किन छाडा छाेडियाे ? फेरि काेही छिमेकीकाे बारीमा गएर आँपकाे रुखमा छुड्डियाेस् हामी त्याे पर्खिराखेकाे हाे ? हाेइन भने यसमा गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु, यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरुलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस् ।'
