काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले राेल्पामा तत्काल विशेषज्ञ डाक्टर पठाउन सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद् घर्तीले राेल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताउनुभयाे ।
विशेषसज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाउनुपरेकाे भन्दै उहाँले यसमा सरकारले लाज मान्नुपर्ने बताउनुभयाे । सांसद् घर्तीले भन्नुभयाे - 'यसमा सरकारलाई अलिकति लाज सरम र अप्ठ्यारो लाग्छ कि लाग्दैन ? विशेषज्ञ डाक्टरको अनुहार कहिल्यै देख्न नपाउने रोल्पालीलाई सरकारले कि त परम्परागत धामी झाँक्रीबाट उपचार गर सरकार सक्दैन भनाेस्, होइन भने तत्काल ओएनएम सर्वे गरेर विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरी पर्याप्त विशेषज्ञको डाक्टरकाे व्यवस्था गर्न र हाललाई रोटेसनमै भए पनि चाँडै विशेषज्ञ डाक्टरको व्यवस्था गर्न म आग्रह गर्दछु ।'
देशभरका ५१ हजार ४२३ सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सरकारले परिचयपत्र पनि नदिएर अन्याय गरेकाे भन्दै उहाँले तत्काल परिचयपत्रकाे व्यवस्था गर्न माग गर्नुभयाे । परिचयपत्र नहुँदा उनीहरु राज्यबाट स्वास्थ्य बीमा र अन्य सुविधाबाट वञ्चित भइरहेका भन्दै सांसद् घर्तीले यसमा ध्यान दिन माग गर्नुभयाे ।
