काठमाडाैं । राष्ट्रिय सभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ ।
राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो । सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
उहाँले मिटरब्याजीका कारण गरिब, निमुखा नागरिकको घरखेत गएको र जीवनयापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको तथ्य पेस गर्नुभयो । उहाँले किसानलाई उत्पादन बढाउनका लागि मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग दोहोर्याउनुभयो ।
सांसद शारदादेवी भट्टले मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्दातिर्दा कहिले नसकिने यो कस्तो अन्याय हो भन्ने प्रश्न गर्दै पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गर्नुभयो ।
यो धनुषाको मात्रै समस्या नभई देशभरको समस्या भएको उल्लेख गर्दै उहाँले आफ्नो गुनासो र दुःख सुनाउन आएका पीडितलाई खुलामञ्चमासमेत बस्न नदिइएकामा आपत्ति जनाउनुभयो ।
सांसद प्रमिला कुमारीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
प्रतिवेदन पेस
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदनसभा समक्ष पेस गर्नुभएको हो ।
पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चाैँथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८/७९ छन् ।
मर्यादा विधेयक विधायन समितिमा
राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
सांसद डा. बेदुराम भुसालले‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाको अर्को बैठक यही चैत २१ गते मंलबार १० बजे बस्नेछ ।
–रासस
