काठमाडाैं । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले अहिलेकाे गठबन्धन सरकारसँग जनता निराश रहेका बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् बिसीले अहिलेकाे सरकारसँग कुनै नीति, सिद्धान्त र कार्यक्रम नभएकाे सरकारसँग केही भराेसा गर्न नसकिने बताउनुभयाे ।
उहाँले अहिलेकाे सरकारलाई जनसराेकारका विषयप्रति कुनै चासाे नरहेकाे बताउनुभयाे । सांसद् बिसीले भन्नुभयाे - '१० दलीय गठबन्धनकाे सरकार मन्त्रीकाे भागबण्डा र लुछाचुँडीमा व्यस्त छ, अहिलेकाे सरकारसँग जनता निराश छन्, जसले जे गरेपनि हुने थिति यसले बसालेकाे छ, महंगीले सीमा नाघेकाे छ, उद्याेग व्यापार ठप्प छ, अर्थतन्त्र ध्वस्त छ, सरकारले विषादी परीक्षण राेकेर मन्द विष खुवाएकाे छ ।'
गठबन्धन सरकार देश-जनताबारे साेच्ने र विकासतिर लाग्ने भन्दा पनि एमालेलाई कसरी सानाे पार्ने भन्नेमा केन्द्रित रहेकाे उहाँले बताउनुभयाे । जनताले भराेसा गरेकाे पार्टी एमाले मात्रै भएकाे भन्दै उहाँले बेथितिलाई थितिमा ल्याउनका लागि एमालेकाे बहुमतकाे सरकार चाहिने जनताले महशुस गरिसकेका बताउनुभयाे ।
