काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
दिउँसाे ३ बजे बस्ने कर्णाली प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि उहाँले प्रदेश सभामा दाेस्राे पटक विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री हुनुभएका शर्माले माघ ६ गते विश्वासको मत लिनुभएको थियो । माओवादीका १३, एमालेका ९, राप्रपा र एकीकृत समाजवादीका १-१ तथा स्वतन्त्र १ जना गरी २५ सांसद्ले उहाँलाई विश्वासकाे मत दिएका थिए ।
कर्णाली प्रदेश सरकारमा अहिले एमाले र माओवादी सहभागी छन् । राष्ट्रपतिको चुनावसँगै केन्द्रमा फेरिएको समीकरणका कारण एमाले बाहिरिने सम्भावना छ ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १-१ गरी ४० जना सदस्य छन् ।
