काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाउनुभएकाे छ ।
शुक्रबार बसेकाे कर्णाली प्रदेश सभा बैठकबाट मन्त्री शर्माले विश्वासकाे मत पाउनुभएकाे हाे । मतदानमा ३९ जना सांसद् उपस्थित भएकाेमा मुख्यमन्त्री शर्माको पक्षमा ३८ र विपक्षमा १ मत मात्र परेको छ ।
उहाँलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र १ जना स्वतन्त्र सांसद्ले मत दिएका छन् । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक अरु सबै दलले मत दिएका छन् । सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा दाेस्राे पटक विश्वासकाे मत लिनुभएकाे हाे ।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री हुनुभएका शर्माले माघ ६ गते विश्वासको मत लिनुभएको थियो । माओवादीका १३, एमालेका ९, राप्रपा र एकीकृत समाजवादीका १-१ तथा स्वतन्त्र १ जना गरी २५ सांसद्ले उहाँलाई विश्वासकाे मत दिएका थिए ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १-१ गरी ४० जना सदस्य छन् ।
